सरकारले स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्ने

काठमाडाैं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गर्ने भएको हो ।

गृह मन्त्रालयमा शुक्रवार सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक सङ्घमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरुसँग बसेको बैठकमा सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसारपसारमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नेबारे छलफल भएको हो ।

प्रवक्ता पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपसचिवद्वय गोमादेवी चेम्जोङ, वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक कमलेशकुमार वर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ । निर्वाचन सुरक्षामा निजी हेलिकप्टर प्रयोग गर्दा वायुसेवा सञ्चालक सङ्घले मिलाएको पालोका आधारमा गरिने प्रवक्ता पोखरेलले बताउनुभयो ।

बैठकमा श्री एयरलाइन्ससँग रहेको एमआई १७ हेलिकप्टर निर्वाचन प्रयोजनमा कुनै पनि बखत आवश्यक पर्ने भएकाले तैनाथ अवस्थामा राख्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us