पर्यटकको आकर्षक बन्दै लोमान्थाङको तातोपानी कुण्ड

हरिकृष्ण शर्मा

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचिन मानव सभ्यताको झल्को दिने जोङ्ग, लो निफु गुम्बा, कोरोला नाका, लोमान्थाङ दरबार सहित प्राचीन बस्ती हेर्न आउने पर्यटकलाई लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्डले समेत ध्यान तान्ने गरेको छ ।

प्रायः बाह्रै महिना जाडो हुने उपल्लो मुस्ताङमा तातोपानीको मुहान भेटिएपछि पर्यटकहरू अवलोकनका लागि पुग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसी भन्नुहुन्छ, ‘‘संरक्षणका लागि गाउँपालिकाको प्राथमिकतामा रहेको छ, स्थानीय नुहाउन, पर्यटक अवलोकनका लागि मात्रै जाने गर्दछन् ।’’लोमान्थाङ गाउँको फेदीमा रहेको तातोपानीको मुहानलाई नियमित प्रयोगमा ल्याउनका लागि चालु आर्थिक वर्षमा रु. १० लाख ११ हजार रुपिँया बजेट बिनियोजन समेत गरिएको छ भने स्थानीयले समेत नुहाउने क्रममा मर्मत गर्ने गरेका छन् ।

समुन्द्रि सतहदेखि ३ हजार सात सय २० मिटरको उचाईमा रहेको कुण्ड लोमान्थाङ बस्तीबाट ४० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । लोमान्थाङबासीलाई प्राकृतिको बरदान भएको भन्दै संरक्षणमा समेत चासो देखाएका छन् । जमिन भित्रबाट निस्किएको तातोपानी ५० देखि ५५ डिग्री सेल्सियसको भएको अनुमान गरिएको छ । अत्याधिक तातोपानी भएकाले सिधै पोखरीमा स्नान गर्न नसकिने स्थानीय ब्यवसायी कुङ्गा गुरूङको भनाइ छ ।

गाउँपालिकाले तातोपानी कुण्डको नजिकै आश्रय स्थल र स्नान गर्ने ठाउँ समेत बनाएकाले सहज भएको मुस्ताङ घुम्न जानुभएका माछापुच्छे« बैक बेनी शाखाका प्रमुख मन शर्माले बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘‘प्रकृतिले हरेक किसिमको सुन्दरता दिएको बस्ती रहेछ, त्यहाँ पुग्दा प्राचिनकालमा प्रवेश गरेको महसुस हुन्छ ।’’

तातोपानी कुण्ड आसपासका क्षेत्रलाई थप फराकिलो बनाएर थप कुण्ड सहितको संरचना बनाउन सकेमा स्नान गरेबापत आम्दानी समेत गर्न सकिने पर्यटकको भनाइ छ । प्राकृतिक तातोपानीमा स्नान गर्दा ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us