काठमाडौं । सामाजिक संजालमा दुर्ववहारको भिडियो आएपछि आजमात्रै नेपाल प्रहरीका ३ र काठमाडौं महानगर प्रहरी १ जनागरी ४ जना विभागिय कार्वाहीमा परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका पुरूषलाई लछारपछार गरी दुर्व्यवहार गर्ने र आज बिहान बालुवाटारमा कवाडी संकलन गर्न हिँडिरहेका एक व्यक्तिको साइकल खोस्ने नगर प्रहरीहरु कारबाहीमा परेका हुन् ।
काठमाडौं महानगर प्रहरी बलले एकजना नगर प्रहरीलाई कारबाही गरेको छ।

बुधबार बिहान बालुवाटारमा कवाडी संकलन गर्न हिँडिरहेका एक व्यक्तिको साइकल खोस्दै नगर प्रहरीले अमर्यादित व्यवहार गरेको भन्दै आलोचना भएको थियो।
नगर प्रहरी निरिक्षक शम्भु थापाले अमर्यादित व्यवहार गरेको भन्दै कारबाहीका लागि उनलाई महानगर प्रहरी बलको कार्यालयमा तानिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
‘महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यावसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरूलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन, २०८० बमोजिम आवश्यक कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ,’ पाण्डेले भने।
तीन जना प्रहरी जिम्मेवारीबाट हटाइए:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका पुरूषलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन्।

विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए।
उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ।
युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।
उक्त भिडिओ भाइरल भएपछि कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
आइतबार बिहान ११ बजेतिर ओझा युएईबाट फर्किएपछि आफन्तलाई कुरिरहेका थिए। त्यही बेलामा एक युवकले उनीसँग ट्याक्सीबारे सोधिखोजी गरेका थिए।
त्यसपछि प्रहरीसँग पनि विवाद भएपछि लछारपछार पारेर उनलाई आगमन कक्ष भित्र लगेको देखिएको हो। उनलाई प्रहरीले केही पटक हिर्काएको पनि देखिएको थियो। प्रहरीले विमानस्थलमा ओझामाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भइरहेको थियो ।