मोरङ जिल्लाका संवेदनशील मतदानस्थलको जिल्ला सुरक्षा समितिद्वारा अनुगमन

काठमाडाैं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका  संवेदनशील मतदानस्थलमा उक्त समितिले अनुगमन गरेको हो ।

निर्वाचनका लागि ३०० मतदानस्थल तथा ८२० मतदान केन्द्र तोकिएको छ। प्रजिअ दाहालले आचारसंहिता पालना गराउन राजनीतिक दलहरुको प्रतिबद्धतासहित निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाका कतिपय मतदानस्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदानस्थल संवेदनशील देखिएको सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी दाहालसहित जिल्लास्थित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता थियो ।

सुरक्षा समितिका अनुसार तोकिएको मतदानस्थलमध्ये ४९ वटालाई  अतिसंवेदनशील १५५ वटालाई संवेदनशील तथा ९६ वटालाई सामान्य मतदानस्थलको रुपमा लिइएको  छ। यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको उहाँले बताउनुभयो।

स्थानीय तहका निर्वाचनका लागी विद्यालय तथा वडा कार्यालयलाई मतदानस्थल तोकिएको छ। अनुगमनका क्रममा केही मतदानस्थल सानो एवं साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ। मिक्लाजुङ गाउँपालिकासहित केही पालिकाको विकट स्थानमा रहेका मतदानस्थलमा हेलिप्याडको व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us