काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्
नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्र एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताए ।
’नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्र एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रूपमा लिने गरिएको पाइन्छ । अझ विदेशमा बस्ने नेपालीहरूलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरूलाई भन्न चाहन्छु- यदि साँच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,’ उनले भने ।
अध्यक्ष ढकालले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे ।
’हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरू सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रशस्त गर्न खोजेको छ । यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौं,’उनले भने ।
अध्यक्ष ढकालले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गरे ।
’तपाईंहरूले यहाँ धेरै राम्रो गर्नुभएको छ । तपाईंहरूले आफ्नो पुँजीको केही अंशमात्र भए पनि नेपालमा लगानी गरेर त्यहाँ उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सघाउनुभयो भने पक्कै पनि हाम्रो विकासको गति तीब्र पार्न सकिन्छ,’ उनले भने ।
उनले बागुलङदेखि आएर अहिले नेपालको निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको र विभिन्न कम्पनी मार्फत २५ हजार बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशिलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको पुनः दोहोर्याए ।
अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह समेत गरे ।
उनले नेपालमा लगानीको वातावरण सुधार हुँदै गरेको उल्लेख गर्दै हालै नेपाल सरकारले गरेको कानुन सुधारले मुलुकमा लगानीको वातावरण बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।