आठ वटा सङ्घीय अस्पतालमा १५ सेवा थपिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्री पौडेलको सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्किजल आइसियुको सेवा विस्तार गर्नेछ । वीरको आइसियुमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ ।

यसै गरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दै छ । यसै गरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्यानडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दै छ । भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसै गरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसै गरी नारायणी अस्पताल वीरगन्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।

धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।

मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै सङ्घीय अस्पतालहरूलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । जसअनुसार गत चैतमा१२ सङ्घीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप सङ्घीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिनुभयो । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उहाँले भन्नुभयो । ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us