काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको प्रतिष्ठित स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट प्राप्त ३ हजार ७९१ चलचित्रहरुमध्ये छानिएका ९८ सर्टलिस्ट फिल्ममध्ये २० उत्कृष्ट सर्टफिल्ममा ‘पाउलो’ पनि पर्न सफल भएको हो ।
चीनको सेन्जेन सहरमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शन पनि हुनेछ ।
जुत्ताको कथालाई केन्द्रमा राखिएको यस लघुचलचित्रले परिवारविहीन सडक बालकको मार्मिक जीवनलाई चित्रण गर्छ, जसमा ‘जुत्ता’ नै कथा अगाडि बढाउने प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ ।
यसअघि पनि ‘पाउलो’ भारत, अमेरिका, बेलायत, रसिया, जिम्बावे लगायतका थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । सीएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल (भारत), अथेन्टिक ग्लोबल फिल्म अवार्ड (अमेरिका), लाइट अफ द वर्ल्ड (रसिया), भर्सिटी फिल्म एक्स्पो (जिम्बावे) लगायतका महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । साथै, छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष स्क्रिनिङ पनि भइसकेको छ।
मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पाउलो’ को छायांकन नारायण जिसीले, सम्पादन अनिल महर्जनले, र कास्टिङ डिरेक्शन रेनुका कार्कीले गरेका हुन् । चलचित्रमा प्रशान्त हुमागाईँ, मोहन श्रेष्ठ, सुवास सिलवाललगायत कलाकारहरूको अभिनय छ ।
ब्ल्याक हर्स कम्पनीले प्रायोजन गरेको यस चलचित्र ऐना आर्ट्सको प्रस्तुति हो । निर्देशक अभिलाषी यसअघि घुर्रा, द स्कूल वाल, एक जोर जुत्ता लगायतका फिल्ममार्फत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।