काठमाडौं । ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’द्धारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् ।
नेपाल स्रष्टा समाजद्धारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,संरक्षक पवन आलोक लगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे ।
नगद २० हजार एक सय एघार नगद राशी,सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मान लोकगीत सर्जक,गायिका पाल्पा,रामपूर निवासी तिवारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले – “आमाप्रति माया र सम्मानभाव प्रकट गरेर आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादको पात्र हुन् । ” उनले अगाडि भनिन्- “गाउँघरमा भएका दिदीबहिनीहरु पनि प्रतिभावान हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन् ।”
समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुबैलाई धन्यवाद दिए ।
यसअघि पुरस्कृत व्यक्तित्व तिवारी आमाको व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पार्दै पाल्पा रामपूर निवासी लक्ष्मी तिवारी तिवारी आमाको नाउँले प्रख्यात भएकी बताइन् । डा. गिरिले समाजका विकृति र विसंगतिमाथि सिलोक,तीज गीत,रोइला रत्यौली गीतको माध्यमबाट पस्कने गरेको बताइन् ।विद्यालयमा जम्मा दुई कक्षामात्र पढेकी तिवारी नाँच्न पनि उत्तिकै निपूर्ण रहेको पनि जानकारी दिइन् । “तिवारी मौलिक लोकगीत गायन र सृजनामा सक्रिय छिन् । सामान्य लेखपढ गरेकी भएपनि समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरुलाई गीत,कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन् । तीजगीतहरुमा परदेशिएका नेपालीका पीडाहरु उनले उजागर गरेकी छिन् ।”
पुरस्कृत स्रष्टा तिवारीले उतिबेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले गर्दा पढ्न नपाएको बताइन् । उनले राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाइन् । उतिबेलाको छोरीको पीडा पनि गीतमा प्रस्तुत गरिन् । रामपूरको महिमा झल्कने सिलोक पनि सुनाइन् ।
कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरु सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाईलाई नेपाल स्रष्टा समाजले तोडेको बताए । उनले भने – ” नेपाल स्रष्टा समाज काठमाडौंमा मात्र सिमित छैन् । यसको ज्वलन्त उदाहरण आजको सम्मान हो । ” उनले पुरस्कार स्थापना गर्ने पुष्पा खनालप्रति आभार व्यक्त गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिए ।
रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गरे ।
गीतकार पुष्पा खनालले वि.सं.२०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन् ।
ओझेलमा परेका नारी स्रष्टालाई उक्त सम्मान प्रदान गरिदै आएको आयोजकले वताएका छन् । उक्त अवसरमा पुस्पा खनालको गिति भिडियो पनि सार्वजनिक गरिएको थियो।