काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले वि.सं. २०७२ को महाभूकम्प १० वर्ष पुगेको सम्झनामा शुक्रबार फोटो प्रदर्शनी तथा प्रभातफेरी कार्यक्रम गर्ने भएको छ ।
एशोसिएसनको केन्द्रीय कार्यालय पुल्चोकमा शुक्रबार बिहान साढे ७ बजे प्रभातफेरि कार्यक्रम र सो पश्चात भूकम्पसम्बन्धी फोटो प्रदर्शनी हुनेछ ।
एशोसिएसनको डिजास्टर रिस्क म्यानेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कोर्डिनेशन कमिटीको संंयोजकत्वमा विभिन्न पेशागत समूह तथा संघ सस्थाको संयुक्त आयोजनामा २०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा भोलि प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो ।
एशोसिएसनले उक्त कार्यक्रममा सबैलाई सहभागिताको लागि आग्रह समेत गरेको छ । प्रभातफेरी कार्यक्रममा सहभागीहरूलाई एशोसिएसनले तयार गरेको टीसर्ट वितरण गरिने बताइएको छ ।
भूकम्पबाट बच्न संरचनात्मक सुधारबारे एशोसिएसनले निरन्तर पहल गर्दै आएको छ । केही समयअघि नेपाल राष्ट्रिय भवन संहितासम्बन्धी ५ दिने तालिम सञ्चालन गरेको थियो । एशोसिएसनले वि.सं. २०७२ को भूकम्पपछिको पुननिर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
वि.सं. २०७२ साल वैशाख १२ गतेको दिन, बिहान ११:५६ बजे नेपाललाई इतिहासकै एक विनाशकारी प्राकृतिक प्रकोपले हल्लाएको थियो।
७.८ म्याग्निच्यूडको तीव्रता भएको उक्त भूकम्पले हजारौंको ज्यान लियो, लाखौंलाई विस्थापित बनायो, र देशको पूर्वाधारलाई गहिरो क्षति पुर्याएको थियो ।