काठमाडौं । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुंगो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा माओवादी केन्द्रलाई दुई, नेकपा एकीकृत समाजवादीलाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।
कांग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी , माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख , माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ। कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुंगो लगाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कांग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी , तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ। यसैगरी माओवादी केन्द्रको भागमा निस्दी ,रैनादेवी छहरा र तानसेन नगरपालिका परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ ।