केपी ओली नेतृत्वको सरकार कानमा तेल हालेर सुतिरहेको छ : प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले शिक्षकका मागहरू पूरा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्वालाले केपी ओली नेतृत्वको सरकार यतिबेला कानमा तेल हालेर सुतिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार यतिबेला कानमा तेल हालेर बसिरहेका छ। २४ दिनसम्म शिक्षकका आवाज नसुन्ने कस्तो बैरो सरकार हो? यस्तो गर्मीमा शिक्षक सडकमा छन्। लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ। यस्तो बेला सरकारले शिक्षकका माग पूरा गर्न सकेको छैन। हिजोका दिनमा गरिएका सहमति र आज शिक्षकले सडकमा उठाएका मागहरु पूरा गर्नुपर्छ।’

उहाँले अगाडि भन्नुभयो,‘देश आन्दोलनमय बनिरहेको यस्तो अवस्थामा प्रधानमन्त्री दम्भ र घमण्डका साथ बोलिरहनुभएको छ। स्मरण रहोस् शासकहरुले घमण्ड गर्दा हिजो ज्ञानेन्द्रले घुडा टेक्नुपरेको थियो। केपी ओलीले पनि आफू ढल्नुपर्ला भन्ने कुरा भुल्नु हुँदैन।’

त्यस्तै ज्वालाले भूकम्प पीडितलाई तत्काल राहत प्रदान गर्न र आवासको व्यवस्था गर्न माग गर्नुभयो। साथै उहाँले देशमा भ्रष्टचार बढेको स्मरण गराउदै सुशासनका निम्ति सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानविन गर्न संसदमा प्रस्ताव राख्नुभएकोे छ। उहाँले भन्नुभयो, ‘पूर्वराजादेखि, पञ्च, पूर्वप्रधानमन्त्री, मन्त्री, प्रशासक सबैको सबैको सम्पत्ति छानविन गरौं। हामी यसमा परिक्षण हुन तयार छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us