काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’पेश गर्ने कार्यसूचीमा उल्लेख छ। यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।