काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन आन्दोलनरत स्थानमा जाने भएका छन् ।
पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाल सोमबार बिजुलीबजार जाने खनालको सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार भोलि सोमबार दिउँसो साढे १२ बजे दुई पूर्वप्रधानमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका शीर्षस्थ नेताहरू त्यसतर्फ जानेछन् ।
शान्तिपूर्ण रूपमा हुँदै आएको शिक्षक आन्दोलनले आज एक्कासि उग्र रूप लिएको थियो । यस क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आन्दोलनरत स्थलमा रिपोर्टिङका लागि गएकी पत्रकार सविना कार्कीसमेत घाइते भएकी थिइन् ।
तीन साताभन्दा लामो समय चलिरहेको शिक्षक आन्दोलनमा आज भने झडप भएपछि विभिन्न राजनीतिक दलका शीर्षस्थ नेता, सरोकारवाला निकायको ध्यानाकर्षण बढेको छ ।