प्रशासनले हेलमेटधारी भिजिलान्तेहरू खटाएर ढुङ्गामुढा, लाठी वर्षायो :अध्यक्ष सुवेदी

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण शिक्षक आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी ढुङ्गामुढाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको र आन्दोलनको बदनाम गराउन अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्।

विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनको २७औँ दिन सोमवार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले आइतवार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भर्त्सना गरेको बताए।

उनले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गरे।

उनले शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए।

‘आज २७औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन्। यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन्‚ भाग्दैनन्। सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्‚’ उनले भने, ‘हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो। नाङ्गो नाच देखायो। शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी वर्षायो‚ फोहोरा हान्यो। हामी त्यसको घोर निन्दा गर्दछौँ‚ सरकारको शिक्षक कर्मचारीविरोधी अलोकतान्त्रिक कदमको घोर भर्त्सना गर्न चाहन्छौँ।’

अध्यक्ष सुवेदीले आइतवार आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको तर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए।

‘हिजोको ६२ जना साथीहरु घाइते हुनुभएको छ। घाइतेहरु कोही आँखा चिम्लिएर‚ कोही खुट्टो खोच्याउँदै‚ कोही टाउकोमा पट्टी बाँधेर फेरि आन्दोलनको मोर्चामा आउनुभएको छ। केही अफवाह सिर्जना भएका छन्। निश्चित मान्छेहरु संगठित भएर शिक्षक आन्दोलनलाई विभाजन गर्न अनेक थरि कुप्रचार गरिरहेका छन्‚’ उनले भने‚ ‘त्यो कुप्रचारप्रति सचेत रहन आग्रह गर्दछु। सुन्दै छु कहिले पाँचबुँदे कहिले सातबुँदेको त कहिले नौ बुँदाका के के आइरहेका छन्। हामीले तपाईँहरुलाई डाँट्नु पर्ने केही छैन। सरकारले ऐनमा के के गर्नु पर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ। त्यही नै हाम्रो आधिकारिक डकुमेण्ट हो। सरकारले गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us