मकै खेतीतर्फ बाँके डुडुवाका किसान : एउटै वडामा २५० हेक्टरमा खेती

सिराज खान

नेपालगन्ज। तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसान पछिल्लो समयमा मकै खेतीतर्फ आकर्षित भएका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले तरकारी खेतीसँगै मकै खेती पनि विस्तार गर्दै गएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवा गाउँपालिका–६ मा मात्रै २५० हेक्टरमा मकै खेती गरिएको बताउनुभयो। उहाँले किसानले आलु खनेर बेमौसमी मकै लगाएको जनाउँदै त्यहाँ विभिन्न सिजनमा समेत मकै लगाउने गरेको जानकारी दिनुभयो।

तरकारी खेती र मकै दुबैबाट राम्रो फाइदा हुन थालेपछि हिरमिनियाका अधिकांश किसान त्यसतर्फ आकर्षित भएको कृषि शाखा प्रमुख शर्माको भनाइ छ।

डुडुवा गाउँपालिका– ६ भङ्गोटनाका किसान जयपाल मौर्यले उत्पादन र आम्दानी दुबै राम्रो हुन थालेपछि ९० कठ्ठा जग्गामा आफूले मकै खेती गरेको जनाउँदै आलु खने लगत्तै बेमौसमी मकै लगाएको बताउनुभयो।

किसान मौर्यले मकैमा राम्रो आम्दानी हुने गरेको जनाउँदै एक कट्ठामा चार क्विन्टल मकै उत्पादन हुने गरेको बताउनुभयो। उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारीसँगै मकै पकेट क्षेत्र पनि बनाएको बताउनुभयो।

बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको वडा नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताउनुभयो। उहाँले कम जग्गा भएकाले तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको जनाउँदै आफूले समेत तरकारी र मकै दुबै खेती गरिरहेको बताउनुभयो।

वडा अध्यक्ष मिश्रका अनुसार हिरमिनियाका किसानले मकै खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै आएका छन् ।

आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको हिरमिनियाका अर्का किसान रमेश मौर्यले बताउनुभयो।

सरकारले सिँचाइको व्यवस्था गरिदिए हिरमिनियामा झन राम्रो तरकारी र अन्य खेती गर्न सकिने अधिकांश किसानको धारणा छ। गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us