काठमाडौं । जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ ।
पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको दाबी गरेका हुन् ।
उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४–३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ ।’
भारतले आक्रमण गर्नेसक्ने दाबी गरेका मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन । यद्यपि उनले कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी दिएका छन् । र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन् ।
भारतको जम्मू–कश्मिरमा वैशाख ९ गते आतंकवादी हमला भएको थियो । उक्त हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए । हमलाको जिम्मा ‘द रेसिस्टेन्ट फ्रन्ट’ (टिआरएफ) नामक आतंकवादी समूहले लिएको थियो ।
टिआरएफलाई पाकिस्तानी गुप्तचर र सेनाको समर्थन रहेको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने घटनामा आफ्नो संलग्नता इन्कार गर्दै आएको छ ।