फेकनको कोषाध्यक्षमा गौतम पुडासैनीको उम्मेदवारी


काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन् ।
आज दिउँसो केन्द्रीय कार्यालय डिल्लीबजारमा दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको उनले बताए । ‘म अहिले सह–कोषाध्यक्ष हुँ, अब कोषाध्यक्षमा उठ्छु, म सबै सदस्य साथीहरुको सल्लाहले नै अघि बढेको हुँ’ उनी भन्छन् ‘सह–कोषाध्यक्ष भएर अहिले खेलेको भूमिका पनि सबैले सम्झिरहनुभएको छ त्यसैले पनि सबैको सहयोग पाउँछु भन्ने अपेक्षा गरेको छु ।’ आगामी दुई वर्षका लागि शनिबार निर्वाचन हुँदैछ । फेकनमा २ सय ६१ मतदाता रहेका छन् । २०८० साल असार २३ गते भएको निर्वाचनबाट राजु निरौला अध्यक्ष रहेको नयाँ समिति बनेको हो, गौतम हाल सह–कोषाध्यक्ष हुन् ।
उनले उम्मेदवारीबारे फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘लामो समयदेखि शैक्षिक परामर्शसँग आबद्ध रही, यस संस्थालाई मजबुत र उद्देश्यअनुकूल बनाउने अभियानमा निरन्तर लागिरहेकै छु । संस्था संकटमा परेको बेलादेखि, विभिन्न सरकारी निकायसँग समन्वय गरी समाधानको बाटो पहिल्याउने काममा मैले सधैं अग्रसरता लिएको छु । एनओसी बन्द हुँदा मेरो आवाज पहिलोहरूमध्ये नै थियो । शिक्षा मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय वा केन्द्र सरकारका सम्बन्धित निकायहरूसँग पटक–पटक संवाद गरी, साथीहरूको समस्या समाधानका लागि म सधैं सक्रिय रहँदै आएको छु । वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्षका रूपमा काम गर्ने अवसर पाएपछि, मैले जापान विभागमार्फत शिक्षक तालिम, सूचना सत्रहरू, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कार्यमा नेतृत्वदायी भूमिका निभाएको छु । साथै, विभिन्न संस्था तथा निकायहरूसँग समन्वय गरेर प्रायोजन संकलन गर्ने र सबै कार्यक्रमहरूमा सकिय सहभागी रहँदै फेकनका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने काम गरेको छु । यिनै अनुभव र संकल्पका आधारमा मैले यस पटकको फेकनको निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु ।’
उनले आफू कोषाध्यक्षमा निर्वाचित भएपछि गर्ने योजना पनि सार्वजनिक गरेका छन् । उनका योजनाहरुमा फेकनको आर्थिक सुदृढीकरणका लागि पारदर्शि र दीगो आर्थिक योजना लागू गर्ने, आइएल्टीएस्, पीटीई तथा जापानसम्बन्धी परीक्षा केन्द्रहरूसँग समन्वय गरी विद्यार्थीहरूको सहजताका लागि आवश्यक समन्वय गर्ने, बैंक, मेडिकल, ट्राभल तथा इन्स्योरेन्सका क्षेत्रहरूसँग सहकार्य गरी सदस्यहरूलाई सहयोग पु¥याउने व्यवस्था मिलाउने, आफ्नो कार्यकालमा संस्थाका लागि कम्तीमा १ करोड रुपैयाँको कोष निर्माण गर्ने, फेकनका सदस्य परामर्श व्यवसायीहरुको पेशागत दक्षता विकासका लागि फेकन कोषमार्फत कामहरु अघि बढाइनेलगायतका रहेका छन् । उनले एकातिर आर्थिक कोष बलियो बनाउनु र अर्कातिर सदस्यहरुको व्यावसायिक हितमा काम गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले फेकनमा सदस्य बिस्तारको लागि पनि अभियान चलाउने बताएका छन् ।
उनले आफ्ना योजनाले संस्थाको हित गर्ने भएकाले संस्थाको विकासका लागि एक पटक सबैलाई मतदान गर्न र अरुलाई पनि सहयोग गरिदिनका लागि सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us