काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गरेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी-६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो ६० रुपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गरेको जानकारी दिइन्।
‘यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ । जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ,’ उनले भनिन्।
सोही स्थानका मिलनले फापर उत्पादन पश्चात् बिक्रीको समस्या नरहेको सुनाए ।
‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ,’ उनले भने ।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । विगतमा यहाँका कृषकले विचौलिया मार्फत प्रतिकिलो ६० रुपैयाँमा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो १५० रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए ।
उनले भने, ‘यसले गर्दा कृषकले विचौलियालाई बिक्री गर्नुपरेको छैन । कृषकले पनि विगतको भन्दा बढी रकम पाउनुभयो ।’
केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताए । आँबुखैरेनी-६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।
आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने उनको भनाइ छ ।
‘आगामी वर्ष फपार उत्पादन हुने गाउँमा कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजनासहित अघि बढेका छौँ,’ उनले भने ।
ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रूपमा बजारीकरणको व्यवस्था गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।