काठमाडौँ। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा किशोर दुलाल (खगेन्द्र) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
युनिक एजुकेसन कर्नर संचालन गर्दै लामो समयदेखि संस्थासँग आबद्ध रहँदै आएका दुलालले फेकनलाई गतिशील, समावेशी र गर्विलो संस्था बनाउने उद्देश्य सहित उम्मेदवारी दिएको जानकारी गराएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गरेका दुलालले संस्थाको गौरवमय इतिहासप्रति सम्मान व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाको गरिमा र व्यावसायिक दिशालाई मजबुत बनाउन आफ्नो भूमिका आवश्यक रहेको बताएका छन्। उनका अनुसार, फेकनले विगतमा उल्लेखनीय उचाइ हासिल गरे पनि त्यस उचाइलाई कायम राख्न झनै बढी प्रतिबद्धता, मेहनत र सहकार्यको खाँचो छ। त्यसैका लागि आफू उपाध्यक्ष बन्न योग्य उम्मेदवार रहेको उनको दाबी छ ।
उनले आफू विगतमा एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरिसकेको र त्यस अवधिमा संस्थाको हित विपरीत कुनै कार्य नगरेर इमान्दार, जिम्मेवार र संस्थानिष्ठ भूमिकामा रहेर योगदान दिएको उल्लेख गरेका छन्। सदस्य सङ्ख्या विस्तारका क्रममा पनि आफूले संस्थाको आधारशिला थप बलियो बनाउन भूमिका खेलेको दुलालको भनाइ छ। उनी आफूलाई स्पष्ट दृष्टिकोण, स्वच्छ मनोवृत्ति र गहिरो उत्तरदायित्व बोध भएको फेकन सदस्यका रूपमा प्रस्तुत गर्छन्।
दुलालको भनाइमा पद आफैँ अन्तिम उद्देश्य होइन तर संस्था सुचारु राख्न सशक्त नेतृत्व आवश्यक हुन्छ र त्यसका लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। आफू राजनीति शास्त्र र समाजशास्त्रसँग नजिक रहेकाले लोकतान्त्रिक प्रक्रियालाई स्वाभाविक रूपमा ग्रहण गर्ने बताउँदै उनले उम्मेदवारी दिएको जनाएका छन्।
उनले कुनै अतिशयोक्ति वा झुटा सपना नबेची इमान्दार प्रयास मार्फत फेकनलाई अझ सशक्त, समावेशी र अन्तर्राष्ट्रिय स्तरमा चिनिने संस्थाका रूपमा निर्माण गर्ने सङ्कल्प दोहोर्याएका छन्। दुलालले भनेका छन्, “फेकन छ र म छु। फेकन रहुन्जेल म सधैँ यो संस्थाको जिम्मेवार सदस्य भएर रहने छु।”
उनले हार–जित भन्दा पनि सिकाइ र योगदानको भावना बोकेर निर्वाचनमा होमिएको बताएका छन्। “आजको टड्कारो आवश्यकता भनेको गर्विलो फेकन हो, जुन हाम्रै पालामा सम्भव छ,” दुलालले भनेका छन्।
आफ्नो उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले सबै फेकन सदस्यहरूलाई साथ, समर्थन र विश्वासका लागि आग्रह गरेका छन्।