प्रदिप नेपाल कम्युनिष्ट आन्दोलनका बहुप्रतिभाशाली नेता हुनुहुन्थ्यो: झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदिप नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको बहुप्रतिभाशाली नेता भएको स्मरण गर्नुभएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले उक्त कुरा बताउनु भएको हो। विज्ञप्तिमा भनिएको छ, ‘हिजो २३ वैशाख २०८२ मा नेपाली कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण नेता कमरेड प्रदिप नेपालको ७१ वर्षको उमेरमा दुखद निधन भएको छ। यस दुखद घडीमा म कमरेड प्रदिप नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, वँहाकी धर्मपत्नि क.झुमा देवान नेपाल र छोरी डा.समिक्षा नेपाल तथा वहाँको शोक सन्तब्ध परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कमरेड प्रदिप नेपाल नेपालको कम्युनिष्ट आन्दोलनका एक बहुप्रतिभाशाली नेता हुनुहुन्थ्यो। वहाँले नेपाली कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको देशभक्तिपूर्ण आन्दोलन र नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनलाई समेत अघि बढाउन महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो। वहाँले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, कोअर्डिनेसन केन्द्रको निर्माण गर्ने, नेकपा (माले) को गठन गर्ने र नेकपा (एमाले) लाई विकास र विस्तार गर्ने लगायतका कामहरु मार्फत कम्युनिष्ट आन्दोलनको विकास र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। त्यसरी नै वहाँले नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अघि बढाउने कुरामा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो। वहाँले लेखेका उपन्यास, कथा, गीतहरु अहिले पनि हामीसँगै छन्। पछिल्लो अवधिमा वहाँ अस्वस्थ हुनुभयो र पार्टीका सक्रिय राजनीतिक कामबाट अलग हुनुभयो र उपचार गर्दै लेख्ने कार्यमा लागिरहनुभएको थियो। आखिर उपचार गर्दागर्दै हिजो २३ वैशाख २०८२ मा वहाँको दुःखद निधन भएको छ। वहाँको निधनमा हामीले एक अनुशासित, दृढ, इमान्दार र नीतिनिष्ठ नेतालाई गुमाएका छौँ। वहाँको पार्थिव शरीर नभएपनि वहाँले विभिन्न पक्षमा दिनुभएको योगदानहरू कम्युनिष्ट आन्दोलनमा छरपष्ट छन्। ती योगदानहरूले सिर्जना गर्ने स्मृतिमा वहाँ हामीसँग सधैं बाँचि रहनुहुनेछ। वहाँका अशल विचार, सद्गुण र अशल कार्यशैलीबाट सिक्दै एउटा सुन्दर, सभ्य, लोकतान्त्रिक र समृद्ध समाजवादी नेपाल निर्माण गर्ने वहाँको सपनालाई पूरा गर्न हामी दृढ कदमका साथ अघि बढौँ। वहाँप्रति यही नै सच्चा श्रद्धाञ्जली हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us