विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन: अख्तियार प्रमुख

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहोको उनको भनाइ छ ।

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरुलाई आग्रह समेत गरे । यस सम्बनधमा काम गर्न सरकारले कार्यदल गठन भए पनि द्रुत गतिमा काम नगरेको उनको गुनासो छ ।

उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी पनि गरे । आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनी दबाब नआएको भन्दै उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरुमाथि अनुसन्धान गरिएको दाबी गरे ।

प्रमुख राईले भने, ‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरमा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भरिहकै अवस्था हो । ठुला माछाहरुलाई लगेन भन्ने कुरा ५/१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ । सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौं । उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि । उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुप¥यो नि । तर उहाँहरु कोही नामसम्म लिन चाहनुहन्न । हामीले अहिलेपनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाए पनि काम भइरहेको छैन ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको बताए । साथै भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us