काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढेको द्वन्दप्रति चिन्ता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै अप्रिल २२, २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार चिन्तित रहेको उल्लेख गरेको छ ।
पहलगाम आक्रमणमा एक नेपाली युवासहित २६ जनाको मृत्यु भएको थियो ।
नेपाल र भारत साझा शोक र पीडाको समयमा एक ठाउमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
परराष्ट्रले नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको छ ।
आतंकवाद विरुद्धको लडाईमा नेपाल सबैको साथमा उभिएको उल्लेख गर्दै आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने उल्लेख गरेको छ ।
नेपालले तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा स्थायी शान्ति र स्थिरताप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।