काठमाडौं, २८ बैशाख — नेकपा (एकीकृत समाजवादी) निकट युवा संगठन युवा संघ नेपालले आगामी भदौ महिनाको अन्तिम साता राजधानी काठमाडौंमा नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारीका लागि महाधिवेशन संयोजन समिति गठन गरिएको छ।
पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयको निर्णयअनुसार, महाधिवेशनको सम्पूर्ण व्यवस्थापन तथा सफल सञ्चालनका लागि युवा संघ नेपालको इन्चार्ज लक्ष्मण केसीको नेतृत्वमा संयोजन समिति गठन गरिएको हो।
महाधिवेशन संयोजन समितिको संयोजकमा रोशन थापा रहेका छन्। साथै धर्म शाही, सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्यका रूपमा कार्यदलमा रहेका छन्।
महाधिवेशनको तयारीको सम्पूर्ण जिम्मेवारी यही संयोजन समितिले सम्हाल्नेछ भने काठमाडौंमा हुने महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागीता रहने अपेक्षा गरिएको छ।
युवा संघ नेपाल नेकपा (एकीकृत समाजवादी) को अधीनमा रहेको एक सक्रिय युवा संगठन हो, जसले विभिन्न सामाजिक, राजनीतिक र संगठनात्मक कार्यक्रमहरू गर्दै आएको छ।