क्षेत्रीय विकासका लागि जलविद्युत सहकार्य अनिवार्य : युनुस

बङ्गलादेश । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा नेपालको सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् ।

प्राध्यापक युनुसले भने, ‘बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ’, उनले भने ।

उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरेका थिए । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।

उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले ।

त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेका थिए । उनले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरे । साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याए ।

त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे ।

त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *