काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा अनपेक्षित घटना भएको बताएका छन् । ५० दिनको प्रहरी हिरासतपछि सर्वोच्च अदालतको आदेशमा हाजिरीजमानीमा रिहा भएका मिश्रले आफूले सङ्गठित अपराध वा आपराधिक उपद्रव नगरेको जिकिर गरे ।
‘चैत १५ मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यो कसैको नियोजित योजना थिएन, तर आन्दोलन ठुलो हुँदा नियन्त्रण बाहिर जान्छ। ०६२/०६३, थारु र मधेस आन्दोलन हेर्दा पनि यस्तै भएको थियो,’ मिश्रले भने । उनले सधैँ शान्तिपूर्ण र नवीन समझदारीको पक्षमा रहेको उल्लेख गर्दै रिहाइ भए पनि खुसी हुने अवस्था नरहेको बताए ।
मिश्रले आफूमाथिको मुद्दा अझै बाँकी रहेको र राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाको माग राखेको स्वीकार गरे । ‘मैले सङ्गठित अपराध वा उपद्रव गरेको छैन । यो राजनीतिक आन्दोलन हो,’ उनले भने । सर्वोच्चले शुक्रवार उनलाई हाजिरीजमानीमा रिहा गर्न आदेश दिएको थियो ।