काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल धान चामलमा आत्मनिर्भर नभएको बताएका छन् । सोमबार संसद्मा सांसद प्रेस सुवालले धान चामललगायतका बालीनालीमा नेपाल आत्मनिर्भर भएको छ कि छैन भनेर गरेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कृषि उत्पादकत्व वृद्धि गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीतिमा सरकार रहेको जानकारी गराएका हुन् ।
दूध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर रहेको मन्त्री अधिकारीको भनाइ छ । त्यस्तै माछा मासु, दूध, धान मकै र अण्डा, दलहन तरकारी र फलफूल बालीमा नेपाल आत्मनिर्भर बन्न सक्ने भन्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले कृषि उत्पादनका आधारभूत तत्त्व रासायनिक मल, गुणस्तरीय बिउ विजन र सिँचाइको सहज तथा उचित व्यवस्थापनमा जोड दिएको बताए ।
उनले आर्थिक ८० / ८१ मा खाद्यान्न बालीको क्षेत्रफल ३ हजार २९२ हेक्टर ११ हजार ९२४ मेट्रिक टन, दलहन बाली २५८ हजार हेक्टरमा २७७ हजार मेट्रिकटन, फलफूल १ लाख ३९ हजार हेक्टरमा १५ लाख ९ हजार मेट्रिक टन तथा तरकारी ३ लाख १२ हजार हेक्टरमा ४४ हजार ४ सय मेट्रिक टन उत्पादन भएको जानकारी दिए ।
उनले चालु आर्थिक वर्ष ८१/८२ मौसम अनुकूल भए सबै वाली सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताए । ‘धान, मकै, गहुँलगायत खाद्यान्न बालीको उत्पादन २।६७ प्रतिशत तथा नगदे बालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ’मन्त्री अधिकारीले भने ।