काठमाडौं । २०७२ सालको महाभूकम्पको ७ वर्ष पूरा भएको छ। विसं २०७२ को आजैको दिन अर्थात वैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो।
बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकम्पबाट काठमाडौं, काभ्रेपलान्चोक, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवालगायत हालको बागमती र गण्डकीका धेरैजसो जिल्लामा सबैभन्दा बढी क्षति गरेको थियो। ८ लाख ११ हजार ७ सय ५४ वटा घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको थियो ।
हजारौं मानिसले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौं घरहरू भत्किएका थिए। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माण र पुनर्स्थापनाको काम लगभग सम्पन्न भएका छन् । धरहारा र काष्ठमण्डपसहित अधिकांश सम्पदास्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् । भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको कार्य पनि सम्पन्न हुने चरणमा छन् ।