चीनद्वारा नेपाललाई नुवाकोटको चिया परियोजना हस्तान्तरण

काठमाडौं । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) द्वारा प्रवर्धित नुवाकोटको चिया कारखाना स्थानीय चिया सहकारीलाई हस्तान्तरण गरिएको छ । चिनियाँ जनताको सहयोगमा ‘गतिशील गाउँ’ को अवधारणाअन्तर्गत निर्मित उक्त कारखानाको सञ्चालन र व्यवस्थापन अब स्थानीयले सहकारीमार्फत गर्नेछन् ।

सिएफआरडीद्वारा नुवाकोटको म्यागाङ गाउँपालिकामा दुईवटा चिया सहायता कार्यशाला सफलतापूर्वक कार्यान्वयन भएको छ भने ललितपुरको महाङ्काल गाउँपालिकामा पनि चिया प्रशोधन कारखाना स्थापना गरिएको छ ।

स्थानीय ताजा चियाको मूल्य बढाउन,गुणस्तर सुधार्न र नेपाली कृषकहरूलाई चिनियाँ र अन्तर्राष्ट्रिय बजारमा पहुँचका लागि विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिइएको छ । चिया किसानहरूले नुवाकोटलाई पूर्वी इलामको तुलनामा उच्च उत्पादन हुने चिया उत्पादन केन्द्रमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन् ।

आज आयोजित हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ राजदूत छन सोङ्गले चिया सहयोग परियोजनालाई नेपालमा ग्रामीण तथा दिगो विकास प्रवर्धन गर्ने संयुक्त उपलब्धि बताए भने यसअघि धान खेतीजस्ता विभिन्न सहयोग उपलब्ध गराइसकेको पनि स्मरण गरेका थिए । काठमाडौंको दक्षिणकाली नगरपालिकामा तरकारी खेतीका निम्ति सहयोग गरिएको र भविष्यमा भैंसी र माछा पालनलाई सघाउने योजना पनि उनले सुनाए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालका तीन प्रदेशको विकासमा दुईवटा चिया सहायता कार्यशाला हस्तान्तरणले ठूलो महत्व राखेको बताए । सिएफआरडी नेपाल कार्यालयकि कन्ट्री डाइरेक्टर चौ चिकियाङले राष्ट्रपति सि जिनपिङको आह्वान कार्यान्वयनका क्रममा ‘गरिवीमुक्त,साझा समृद्धि र सौन्दर्यले भरिएको संसार” निर्माण गर्न हातेमालो गरिएको बताइन् ।

उनका अनुसार सन् २०२४ मा सो संस्थाले नेपाली किसानहरूलाई कतारमा ताजा तरकारी निर्यात गर्न,नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मद्दत गरेको थियो । म्यागाङ गाउँपालिका अध्यक्ष आशा तामाङले आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा आभार व्यक्त गर्दै गत अप्रिलमा चीनमा भएको तालिम यात्राबारे जानकारी गराइन् ।

नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ जनतालाई धन्यवाद दिँदै तामाङले हाल तीन लाख चियाको बिरुवा रुख रोप्ने काम भइरहेकाले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखिन् । समारोहपछि अतिथिहरूले स्थानीय चिया बगानको भ्रमण गर्दै चिया संकलन र प्रशोधनको अभिरुचीपूर्वक जानकारी लिएका थिए ।

राजदूत छन सोङले किम्ताङ गाउँ चिया सहकारीका अध्यक्ष सरमान तामाङलाई सम्पन्न चिनियाँ परियोजना हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठ,नुवाकोटका प्रमुख जिल्ला अधिकृत शशीधर घिमिरे,जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी,राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्वकार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रममा स्थानीय बालबालिकाले चिनियाँ जनताप्रति कृतज्ञता र स्नेह व्यक्त गर्दै सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *