अमेरिकाले युक्रेनका लागि सैन्य सहायता बढाउनुका साथै केही दिनमै राजदूत पठाउँदै

काठमाडौं। रुसले आक्रमण गरेपछि जारी युक्रेन युद्ध केही शान्त भएका बेला पहिलो पटक उच्चस्तरीय अमेरिकी अधिकारीहरूको टालीले युक्रेनको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई थप सैन्य सहयोगको प्रतिविद्धतासमेत गरेका छन् । यो अमेरिकी भ्रमणले रुसविरुद्ध पश्चिमाको बलियो ऐक्यबद्धताको सङ्केत समेत गरेको छ ।

पोल्याण्डबाट रेल हुँदै आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेका हुन् । युक्रेनको राजधानी कीभमा विदेशमन्त्री ब्लिनकेन र रक्षामन्त्री अस्टिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा उनीहरूले रुसको आक्रामकताविरुद्ध लड्न युक्रेन र अन्य रुसको खतरा भएका मुलुकहरूलाई ७१ करोड ३० लाख अमेरिकी डलर बराबरको सैन्य सहयोगको प्रतिबद्धता गरेका हुन् । अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनका नेताहरूबीचको बैठक तीन घण्टा अर्थात् तोकिएको समयभन्दा दोब्बर समयसम्म चलेको थियो ।

ुराष्ट्रपति पुटिनको क्रूर आक्रामक युद्धको सामना गर्ने युक्रेनका अर्थोडक्स ईसाईहरूको लचिलोपनबाट हामी प्रेरित छौं,ु अर्थोडक्स इस्टर उत्सवका क्रममा ब्लिन्केनले ट्विटरमा कीभ पुग्नु अघि भनेका थिए । ब्लिन्केन र अस्टिनको भ्रमण अघि, युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाबाट तत्काल आवश्यक पर्ने क्षेप्यास्त्र विरोधी प्रणाली, विमान विरोधी प्रणाली, बख्तरबन्द सवारी साधन र ट्याङ्कहरूलगायतका हतियारको सूची बनाएका थिए ।

संयुक्त राज्य अमेरिका र नेटो सहयोगीहरूले युक्रेनलाई भारी उपकरण र थप अत्याधुनिक हतियार प्रणालीहरू आपूर्ति गर्न बढ्दो तत्परता देखाएका छन्। बेलायतले युक्रेनलाई सैन्य गाडीहरू पठाउने वाचा गरेको छ । यस्तै बेलायतले पोल्याण्डलाई आफ्नो ट्याङ्क पठाएर पोल्यान्डमा रहेको ती ७२ एस ट्याङ्क युक्रेनलाई पठाउने तयारीसमेत गरिरहेको छ । उच्च स्तरीय अमेरिकी भ्रमणले द्वन्द्व वस्तुस्थिति फरक भएको कुरा झल्काएको छ । पश्चिमबाट प्राप्त ठूलो हतियारको साथमा युक्रेनी सेनाले किभमा रुसी सेनाविरुद्ध बलियो प्रतिरोध गरेको थियो ।

फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि रूसले कुनै पनि प्रमुख शहर कब्जा गर्न सकेको छैन । कीभ कब्जा गर्न असफल भएपछि आफ्नो सेनालाई रुसले दक्षिण र पूर्वमा केन्द्रित गरेको छ । अहिले रुसले डोनबास क्षेत्रमा सानो सफलता मात्रै हात पारेको बेलायतले जनाएको छ । रुसको युद्धस्थिती कमजोर बनेसँगै अमेरिकाले केही दिनमा आफ्नो राजदूत युक्रेन पठाउने बताएको छ । नयाँ राजदूत तोकेर युक्रेन पठाउने तयारी अमेरिकाले गरेको हो । अन्य केही देशले पनि त्यहाँ आफ्नो दूतावास फेरि सञ्चालनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us