विश्व बैंकबाट नेपालले २५ करोड ७० लाख अमेरिकी डलर ऋण लिदैं

काठमाण्डाै । विश्व बैंकले नेपालका दुई वटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकले आज विज्ञप्ति निकालेर गएको मे २९ तारिखमा बसेको विश्व बैंक निर्देशक समितिकाे बैठकले ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि ऋण सुविधा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।

आजको विनिमय दर अनुसार यो रकम नेपाली रुपैयाँमा ३५ अर्ब ६ करोड रुपैयाँभन्दा धेरै हुन्छ । स्वीकृत कुल ऋणमध्ये विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर दिइएको छ । त्यो रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाउने सरकारले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेशन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य छ ।

त्यस्तै रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ ।
यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्‍याइने र यसबाट झन्डै १ लाख ६० हजार मानिस लाभान्वित हुने सरकारी दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *