चितवनको कालिका नगरपालिकाद्वारा कृषिमा रासायनिक विषादी बन्द: जैविक प्रयोगमा अनुदान

शालिग्राम नेपाल
चितवन । कालिका नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएको छ । किसानको खेतवालीमा विषादी हाल्नका लागि पालिकाले खरिद गरेर अनुदानमा दिने गरेको थियो ।

यस वर्षबाट नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएर रासायनिक विषादी खरिद कार्य बन्द गरेको हो । कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले जैविक विषादीले मानव जीवनमा नकरात्मक प्रभाव नपार्ने भएकाले यसलाई प्राथमिकता दिएको बताउनुभयो ।

बाहिरबाट आउने विषादीको प्रयोगले मित्रु किरा मर्ने, हरेक वर्ष विषादीको मात्र वृद्धि गर्नुपर्ने, यस्ता विषादीको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने भएकाले पालिकाले यस वर्षबाट खरिद गर्न बन्द गरेको उहाले जानकारी दिनुभयो ।

जैविक विषादीको प्रयोगले बालीनाली र मानव स्वास्थ्यलाई समेत सकरात्मक प्रभाव पार्ने भएकाले यसलको प्रचार जरुरी रहेको उहाँले बताउनुभयो । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले कृषिलाई पालिकाले प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । विषादीको प्रयोग बालीमा गर्न पर्छ, तर मानव स्वास्थ्यलाई असर नपार्ने प्रकारका सामग्रीको मात्र प्रयोग गर्नका लागि पालिकाले ध्यान दिएको छ । त्यसैले यस वर्षबाट विदेशबाट आयातित विषादीलाई बन्द गरेर आफ्नै गाउँघरमा निर्माण भएका तथा जैविक विषादीको प्रयोग बढाएको उहाँको भनाइ छ ।

गत वर्ष विदेशबाट आयात गरिएको तीन लाख रुपियाँको विषादी खरिद गरेर अनुदानमा किसानलाई वितरण गरिँदै आएको थियो । यस वर्षबाट यसलाई बन्द गरेर जैविक विषादी तयार पारेका छौँ । निमबाट बनेको झोल पदार्थ, फेरोमेन भाले पुतलीलाई प्लाष्टिकको बट्टामा झार्ने प्रविधि भित्र्याएको छ । यसको प्रयोग तरकारी, धान, मर्क, फलफूललगायतमा यसको प्रयोग बढेको छ । यसले मानव स्वास्थ्यमा कुनैपनि नकरात्मक प्रभाव नपार्ने भएकाले यसको प्रयोग वृद्धि भएको पालिका प्रमुख रेग्मीले बताउनुभयो ।

शत्रु किरालाई विस्थापित पार्न र मित्रु किरालाई बचाइ राख्न जैविक विषादी आवश्यक भएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताउनुभयो । जिल्लामा जैविक प्रणालीबाट खेती गर्नका लागि अलग्गै कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । ‘‘मानव स्वास्थ्यमा अन्य विषादी हानीकारण रहेको हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जैविक विषादी, जैविक मल अति आवश्यक छ ।’’ जिल्लाका विभिन्न स्थानमा जैविक खेती प्रणालीका लागि प्रोत्साहन गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *