ट्रम्प र एलन मक्सबीचको सम्बन्ध अन्त्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध ‘अन्त्य’ भएको बताएका छन् । शनिबार अमेरिकी टिभी एनबीसी न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

पत्रकारको एक प्रश्नमा ट्रम्पले भने, ‘म अनुमान गर्छु, हो ।’ के तपाईं मक्ससँग बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमाल ट्रम्पले भने, ‘छैन ।’ ट्रम्पको यो भनाइसँगै नङ र मासुको जस्तो ट्रम्प र मक्सको सम्बन्ध अहिले आएर सकिएको अमेरिकी मिडियाहरुले चर्चा गरेका छन् ।

पछिल्लो समय ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमार्फत सतहमा आएको थियो । उद्योगपति एवं धनाढय मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए । उनी ह्वाइट हाउसको सल्लाहकारहरुमध्ये एक थिए । तर, जब ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि उनीहरुबीच विवाद चर्किएको हो ।

उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ । अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन् । उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘ट्रम्पको बिग ब्युटिफुल बिलो आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो ।’

मक्सले सो विधेयकको आलोचना गर्दै आएका छन् । डजबाट बाहिरिएपछि मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर, त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन् । तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु ।’ त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न नसक्ने भनेका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मस्क ‘पागल’ भएको भन्दै प्रतिक्रिया दिएका छन् । उनले मस्कका संघीय सरकारसँगका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिएका छन् ।

शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति ‘सम्मान’ नदेखाएको आरोप लगाए । उनले भने, ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो किनकि, उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *