कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलोको संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।आर्थिक वर्ष २०७८/ ७९ मा यो रोगका ३२ बिरामी र विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।

स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।

औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् । निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ ।

नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो ।

मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चंखेली गाउँपालिका-२, सर्केगाड गाउँपालिका-२,ताजाकोट गाउँपालिका-२,सुर्खेतको भेरीगंगा नगरपालिका-७, वीरेन्द्रनगर नगरपालिका-१०, गुर्भाकोट नगरपालिका-१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका-९ रहेका छन् । 

कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।

मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् ।

निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई दुई हजार ६७१ थान झुल वितरण गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us