काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ ।
प्रमुख पदका लागि उम्मेद्वारी दिने ५६ मध्ये २१ जनाले दलका तर्फबाट उम्मेद्वारी दिनुभएको हो, भने बाँकी ३५ ले स्वतन्त्र उम्मेद्वारीकारूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेद्वारी दिनेमध्ये आठ जना महिला छन् ।
उपप्रमुखमा उम्मेद्वारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गर्नुभएको हो । उम्मेद्वार मध्ये १२ महिला हुनुहुन्छ ।
आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेद्वारी दिनुभएको थियो ।
काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाअध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराउनुभएको हो ।