पश्चिम रुकुमका सबै पालिकामा अस्पताल बन्ने

काठमाडौं। पश्चिम रुकुम जिल्लाका ५ स्थानीय तहमा अस्पताल बनिसकेका छन् भने बाँफिकोट गाउँपालिकाले निर्माण सुरु गरेको छ । जिल्लाका सबै पालिकामा अस्पताल बन्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएपछि बाँफिकोटले अस्पताल निर्माणको काम अघि बढाएको हो । जसका लागि मन्त्रालयबाट १२ करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनु भयो । वहाँका अनुसार ४ नम्बर वडाको छिन्खेतमा अस्पताल बन्नेछ । वहाँले आवश्यक जग्गाको व्यवस्थापन यसअघि नै भइसकेको जानकारी दिनुभयो । अस्पताल भवन निर्माणका लागि ३८ सय वर्गमिटर जग्गाको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल रहेको छ । यसैले नगरपालिकाले ४ नम्बर वडाको सोलावाङमा अस्पताल बनाउने निर्णय गरेको छ । ६ नम्बर वडाको झुल्खेतमा ल्याब सहितको सेवा सुरु गरेको छ । बाँकी ४ स्थानीय तह आफैले अस्पताल बनाएर सेवा दिइरहेका छन् । आठबीसकोटले ९ नम्बर वडाको राडी, चौरजहारीले १० नम्बर वडाको खोलागाउँ र त्रिवेणीले ३ नम्बर वडाको खारानेटामा अस्पताल स्थापना गरी डाक्टरी सेवा दिइरहेको छ ।

सानीभेरी गाउँपालिकाले ७ नम्बर वडाको छोटेबगरमा २ वर्षदेखि डाक्टरबाटै उपचार प्रवाह गरिरहेको छ । आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामै राखेर काम गरिरहेको बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले स्थानीय सरकारले ५ वर्षको अवधिमा विकासको बलियो जग स्थापना गरेको बताउनु भयो । ‘स्वास्थ्य क्षेत्र, शिक्षा, भौतिक पूर्वाधार क्षेत्रको जगमा स्थानीय सरकारले आधारशिला तयार पारेका छन्,’ वहाँले भन्नुभयो, ‘यसको दिगोपना र मात्रात्मक रुपमा बढाउनुपर्ने दायित्व अबका सरकारको भागमा गएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us