काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू धेरै भावुक व्यक्ति भएको र कतिपयले त्यसैको फाइदा उठाउने गरेको गुनासो गर्नुभएको छ । तर, अब धेरै भावुक नबन्ने उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले पतञ्जली जग्गा घोटाला प्रकरणको सन्दर्भमा कार्यकर्तामाझ यस्तो भनाइ राख्नुभएको हो । अख्तियारले आफूलाई प्रतिवादी बनाएकोमा उहाँले घुमाउरो असन्तुष्टि पनि जनाउनुभयो ।
‘तलको खरिदारले ठीक छ भन्या छ, खरिदारबाट आइसकेपछि नासुले ठीक छ भन्या छ, त्यसपछि शाखा अधिकृतले पनि ठीक छ भन्या छ, विभागीय प्रमुख (महानिर्देशक), सचिव, मन्त्री र वकिलहरुले गनुपर्छ भन्याछन्’, नेपालले भन्नुभयो, ‘त्यसपछि मुख्य सचिवले पनि सबै ठिकठाक छ हजुर भन्या छ, विधि कानुन पुगेपछि सबैले ठिक छ भनेपछि निर्णय भएको छ, कसैको असहमति छैन त्यहाँ । अनि माधव नेपाल दोषी ? धेरै भावुक हुन्छु म, सायद त्यसैले…!’
अध्यक्ष नेपालले पछिल्लो समय आफूलाई अलि कठोर बन्न सुझाव आउने गरेको पनि बताउनुभयो । अदालतले न्याय दिने विश्वास व्यक्त गर्दै अघि थप्नुभयाे, ‘अचेल साथीहरुले धेरै भावुक नहुन सल्लाह दिन थालेका छन्, कहिकतै कार्यक्रममा जाँदा धेरे निन्यारो मुख नबनाउन, हाँस्न भन्छन्…मप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भन्न चाहन्छु, अब भावुक नहुने प्रयास गर्छु ।’