काठमाडौँ । चीनको अन्तर्राष्ट्रिय अध्ययन संस्थान (सीआईआईएस) का निर्देशक डा याङ छेनसीले चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र विकासको अधिकारलाई सधैँ समर्थन गर्ने बताएका छन् ।
चीनको नेपाल नीति कुनै पार्टी विशेष नभई जनतामा केन्द्रित रहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षामा चीन सधैँ सहयात्री बन्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
परराष्ट्र मन्त्रालयले शनिबार आयोजना गरेको ‘चौथो यदुनाथ खनाल व्याख्यान शृंखला’ मा ‘चीनको विदेश नीति र नेपाल–चीन सम्बन्ध’ विषयमा उनले उक्त धारणा राखेका हुन् । निर्देशक याङले चीन–नेपाल सम्बन्ध हिमाल र नदीले जोडेको मात्र नभई १६ सय वर्ष पुरानो बौद्ध धर्मको आदानप्रदानदेखि भृकुटी र अरनिकोको सांस्कृतिक योगदानसम्म फैलिएको गौरवशाली इतिहास रहेको बताए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथा दुवै देशको साझा पहिचान र मित्रताको प्रतीक भएको पनि बताए ।
नेपालले एक–चीन नीतिलाई दृढतापूर्वक पालना गरेको र ताइवान तथा तिब्बतलाई चीनको अविभाज्य अंगको रूपमा स्वीकारेकोमा उनले प्रशंसा गरे । आफ्नो भूमिबाट कुनै पनि चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धता र ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावास तिब्बतमा एक मात्र विदेशी कूटनीतिक नियोग हुनुले दुई देशबीचको गहिरो पारस्परिक विश्वासलाई दर्शाउने उनको भनाइ थियो ।
उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको सहकार्य र सन् २०१९ मा स्थापित ‘विकास र समृद्धिका लागि रणनीतिक साझेदारी’ले नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक उचाइमा पुर्याएको पनि बताए । सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाइने र त्यसले सम्बन्धलाई थप प्रगाढ बनाउन नयाँ अवसर प्रदान गर्ने उनले उल्लेख गरे । चीन र नेपालबिच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहँदै आएको उनले स्मरण गराए ।
डा. याङले जनस्तरको सम्बन्ध पनि सुमधुर बन्दै गएको पनि धारणा राखे । नेपालका विभिन्न शिक्षण संस्थामा सञ्चालित कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ भाषा सिक्ने ३० हजारभन्दा बढी विद्यार्थीले सम्बन्धलाई बलियो बनाएको उनको दाबी थियो ।
सन् २०२५ लाई ‘चीन–नेपाल पर्यटन वर्ष’ घोषणा गरिएको जानकारी दिँदै गत वर्ष एक लाखभन्दा बढी चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको र यो संख्या अझै बढ्ने अपेक्षा व्यक्त गरे ।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई ‘अशान्ति र परिवर्तनको युग’ भन्दै याङले यस्तो अवस्थामा चीनले बहुपक्षीय प्रणाली, सहयोगात्मक सुरक्षा र दिगो विकासको अवधारणालाई अगाडि बढाएको धारणा राखे ।