काठमाडौं ।गर्मीयाम बढ्दै जाँदा विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म यो समस्या देखिने गरेको छ । सामान्य अवस्थामा मानिसको शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ । तर, बाहिरी वातावरणका कारण शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी भएमा व्यक्तिको दिमागसम्म असर पुग्न गई विभिन्न अंगमा देखिने विभिन्न असर नै लु अर्थात् हिट् स्ट्रोक हो ।
लगातार शरीरबाट पसिना आई नुनको मात्रा कम हुन पुगी विभिन्न अंगमा असर पुर्याउने, डिहाइड्रेसन हुने, मुटुको चाल बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, छाला सुक्खा र रातो हुनेजस्ता समस्या पनि ‘लु’का लक्षण हुन् । यस्ता असरहरू देखिएका बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुर्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
विशेषगरी बालबालिका, वृद्धवृदा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको पाइएको छ । तर, अत्यधिक गर्मी हुने स्थानमा जो कोहीलाई पनि यो समस्या हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरू सुझाव दिन्छन् ।
‘लु’बाट बच्न सकेसम्म गर्मीमा बाहिर नहिँड्ने, गर्मी भए पनि सबै कपडा खोलेर नबस्ने, प्रशस्त पानी पिउने, शरीरमा चिसो पानी छर्कने, बरफका टुक्राहरूले सेक्ने, बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।