इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराईयोस् : सांसद राई

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताउनुभयो । उहाँले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राईले विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेको बताउँदै इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताउनुभयो । उहाँले यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरीतको नरसंहार रहेको बताउँदै सहन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

पछिल्लो समय विभिन्न देशहरूबिच बढेको युद्धले तेस्रो विश्वयुद्धलाई निम्त्याइरहेको जिकिर गर्नुभयो । उहाँले विश्व युद्धले कुनै पनि मुलुकलाई ठिक नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *