काठमाडौँ । अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।
उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ ।
यो आक्रम नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’
उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।
इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोशिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।
इरानको सरकारी न्युज एजेन्जी आईआरईबीका अनुसार इरानले आक्रमणभन्दा केही समयभन्दा अगाडि तीनै परमाणु केन्द्रलाई खाली गरेको थियो । यद्दपि तीनवटै क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन ।