धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र दोस्रो आवधिक योजना पारित

गुल्मी, बर्बोट – मिति २०८२ साल असार ६ गते, धुर्कोट गाउँपालिकाको गाउँसभा १७ औँ अधिवेशन अन्तर्गत दोस्रो बैठकबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमदोस्रो आवधिक योजना (आ.व. २०८२/८३ – २०८६/८७) सर्वसम्मत रूपमा पारित गरिएको छ।

यसअघि मिति २०८२/०३/०४ गते पेश गरिएको नीति तथा कार्यक्रम र आवधिक योजनामाथि आजको बैठकमा गहिरो छलफल गरिएको थियो। छलफलमा सहभागी गाउँसभा सदस्यहरूले योजनाको प्राथमिकता निर्धारण, बजेटको वितरण, समावेशिता, स्थानीय आवश्यकता र दीर्घकालीन दिगोपनाको दृष्टिले विभिन्न सुझावहरू समेत प्रस्तुत गरेका थिए।

गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, महिला तथा दलित सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलपश्चात योजना र कार्यक्रमलाई आवश्यक परिमार्जनसहित गाउँसभाले अनुमोदन गरेको हो।

पारित नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा उद्यमशीलता, विपद् व्यवस्थापन, वातावरण संरक्षण, डिजिटल प्रविधि, सामाजिक समावेशिता, पर्यटन प्रवर्द्धन, लैङ्गिक समानता तथा रोजगार सिर्जनालाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी, पाँच वर्षे दोस्रो आवधिक योजनाले स्थानीय आवश्यकता, उपलब्ध स्रोत र दीगो विकास लक्ष्य (SDGs) सँग समन्वय गर्दै दीर्घकालीन विकासको खाका प्रस्तुत गरेको छ। योजनाले ‘समृद्ध धुर्कोट, स्वावलम्बी समाज’ निर्माण गर्ने लक्ष्य लिएको छ।

गाउँपालिकाका अनुसार नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै वडास्तरमा नागरिक सहभागिता, पारदर्शिता, अनुगमन र मूल्यांकनमा विशेष जोड दिइनेछ।

धुर्कोट गाउँपालिकाले यस योजनालाई “स्थानीय आत्मनिर्भरता र नागरिक सहभागिताको आधारमा समावेशी र दिगो विकास” को प्रतिवद्धताको रुपमा लिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *