काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इजरायल–इरानमा रहेका नेपाली श्रमिकहरूको संरक्षण र उद्धार गर्न माग गरेका छन् ।
खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता इजरायल युद्धबाट अरब मुलुकमा रहेका लाखौँ नेपाली श्रमिकहरू प्रभावित हुनसक्ने भन्दै उनीहरूको संरक्षण र उद्धारका लागि तयारी गर्न सरकारलाई आग्रह गरेका छन् ।
इजरायलले अमेरिकाको उक्साहटमा इरानमाथि हमला गरेको र इरानी जनताले प्रतिरोध गर्दै आइरहेको बताएका छन् । नेता खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्त क्रुर र फासिस्ट आक्रमण गरेको र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरिएको उल्लेख गरेका छन् ।
‘अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नाङ्गो आक्रमणले संयुक्त राष्ट्र सङ्घको बडापत्रलाई समेत उल्लङ्घन गरेको छ । अन्तर्राष्ट्रिय कानुनलाई उल्लङ्घन गरेको छ । देश-देश बिचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धका नियमहरुलाई पनि उल्लङ्घन गरेको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरेका छन्’, खनालले भनेका छन् ।
साथै उनले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लङ्घन गरेर अमेरिकाले विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् ।
इरानमाथि अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै आक्रमणले सिङ्गो विश्वको र विशेष गरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उनले बताएका छन् ।
‘समग्र अरब जगत र इस्लाम जगतकै शान्ति खल्बलिएको छ । अमेरिकी बम वार्डिङले शान्ति होइन मध्यपूर्व भरि नै प्रतिरोधका ज्वालाहरू दन्किने सम्भावना देखिएका छन्’, खनालले भने,आजको विश्वमा संवाद, सहमति, सहकार्य र विकासको विकल्प छैन ।
अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वमा अशान्ति, युद्ध, आक्रमण र विनाशको मुख्य कारक रहेको भन्दै खनालले सम्पूर्ण मध्यपूर्वबाट अमेरिकी प्रभुत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना नै त्यस क्षेत्रमा शान्ति स्थापनाको मुख्य कडी भएको बताएका छन् ।
खनालले युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरूको जीवन अस्तव्यस्त हुनसक्ने र उनीहरूको संरक्षण र उद्धारका निम्ति तयार रहन नेपाल सरकारसँग माग गरेका छन् ।
