काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र प्रगतिको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा सङ्घ, नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘युवाहरू सही बाटोमा अघि बढे देश पनि सही दिशामा जान्छ । तर, युवालाई भ्रममा पार्ने वा निष्क्रिय बनाउने प्रयास भएमा परिवर्तन र प्रगति सुस्त हुन्छ,’ उनले भने, ‘हामीले युवालाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्नुपर्छ ।’
उनले युवा सङ्घले विपक्षीहरूको भ्रामक प्रचारको खण्डन गर्नुपर्ने र व्यक्तिलाई होइन, सही बाटोलाई पछ्याउनुपर्नेमा जोड दिए । साथै, उनले युवा सङ्घको नेतृत्वलाई आफ्नो कार्यकालका लागि ठोस योजना बनाउन सुझाव दिए ।
‘युवा सङ्घले नयाँ इतिहास रचोस् र असाधारण सक्रियताका साथ काम गरोस्’, उनले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, सुशासन र वैज्ञानिक दृष्टिकोणप्रति प्रतिबद्ध सङ्गठनको रूपमा आफूलाई उभ्याओस् ।’
ओलीले सक्षम नेतृत्वप्रति युवाहरू असहिष्णु हुन नहुने बताउँदै विश्वमा नवप्रवर्तनकारी (इनोभेटिभ) कामहरू युवाहरूले नै गरेको उल्लेख गरे । उनले आफ्नो क्षेत्रमा दक्षता र नयाँ उपलब्धि हासिल गर्न युवाहरूलाई अग्रसर हुन आह्वान गरे ।
युवा सङ्घलाई जनताको स्वाभिमानको बलियो किल्ला भएको बताउँदै उनले यसलाई कसैले भत्काउन नसक्ने दाबी गरे । साथै, यो सङ्गठन सामाजिक जागरण, देशभक्ति र समग्र सामाजिक क्रियाकलापको नेतृत्वकर्ता भएको उनको भनाइ छ ।