सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन र आर्थिक सुधारजस्ता महत्त्वपूर्ण मुद्दाहरूमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले देशका जल्दा बल्दा समस्याहरू समाधान गर्न पूर्णतः अक्षमता देखाएको छ । तसर्थ, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आवश्यक निर्णय गर्न संसदीय दललाई निर्देश गरेको छ ।’

जसपा नेपालले हालसम्म ओली सरकारलाई बाहिरबाट समर्थन दिँदै आएको छ, तर सरकारमा सहभागी भने भएको छैन । प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सांसद रहेको जसपाको समर्थन फिर्ताले सरकारको स्थिरतामा गम्भीर प्रश्न उठ्न सक्छ । समर्थन फिर्ताको अन्तिम निर्णय संसदीय दलको बैठकले लिने छ ।

जसपाको यो निर्णयले ओली नेतृत्वको गठबन्धन सरकारमाथि थप संकट निम्त्याउन सक्न छ । पार्टीले सरकारलाई भ्रष्टाचारमा चुर्लमुर्ल, सुशासनको अभाव र संवैधानिक प्रतिबद्धताहरू पूरा गर्न असफल भएको आरोप लगाएको छ । साथै, आर्थिक संकट र जनताका आधारभूत आवश्यकताहरू सम्बोधन गर्न सरकार चुकेको ठहर गरेको छ ।

जसपाको संसदीय दलको आगामी बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय लिने अपेक्षा गरिएको छ । जसपाले सरकारलाई विगतमा सकारात्मक मनसायले समर्थन गरेको तर, सरकारले जसपाले गरेको अपेक्षा र जनताका मागहरू पूरा गर्न नसकेको बताएको छ ।

जसपाले ओली नेतृत्व सरकालाई समर्थन गर्दा आफू सरकार बाहिर रहेर सरकारलाई समर्थन गर्ने बताएको थियो । विगतमा सरकार प्रमुखले जसपालाई सरकारमा सहभागी हुन कुनै अफर नगरेको बताउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *