दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

कृष्णबहादुर धामी

दार्चुला । दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको छ । विगत एक दशकभन्दा लामो समयदेखि कृषि पेसामा आबद्ध भई व्यावसायिक रूपमा कृषि गर्दै आउनुभएका उत्कृष्ट कृषकलाई कृषि ज्ञान केन्द्र दार्चुलाले सोमबार एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो ।

कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तर्गत उत्कृष्ट हुने शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्ट, महाकाली नगरपालिका–१ का बङ्गुर-कुखुरा पालक कृषक अमरसिंह महरा र मालिकार्जुन गाउँपालिका–८ का तरकारी खेती गरिरहेका कृषक अनिल लोहारलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो ।

उत्कृष्ट तिन जना कृषकलाई जनही नगद २५ हजार, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले उहाँहरूलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । मालिकार्जुन गाउँपालिका–८ का कृषक अनिल लोहारले ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहनुभएको छ ।

उत्पादित तरकारी बारीबाटै बजारकै भाउमा बिक्री हुने उहाँले बताउनुभयो । विद्यालयहरूमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि गाउँपालिका भरीका विद्यालयहरूले अनिलको तरकारीबारीबाटै तरकारी लिने गरेका छन् ।

कृषि ज्ञान केन्द्रको सहयोगमा पोली हाउस भित्र मैसमी तथा बेमैसमी तरकारी खेती गरिरहेका उहाँलाई उत्कृष्ट कृषक पुरस्कार समेत प्राप्त भएको छ । पुरस्कार र सम्मानले पेसाप्रति थप लगाव बढेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।

यस्तै शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्टले माहुरी पालेर वार्षिक एक हजार पाँच सय किलोग्राम मह उत्पादन गरिरहनु भएको छ । सल्लेरीकोटमा सेरेना जातको माहुरी पालन गरेर मह बिक्रीबाट वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । पाँच सय घार माहुरी पालेका उहाँलाई कृषि ज्ञान केन्द्रले तालिम र अनुदानमा आधारित सामाग्रीहरू उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *