काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।
काँग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गर्नुभएको हो ।
प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति पनि रोष प्रकट गर्नुभयो । एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्र एमालेको चोरेको आरोप लगाउनुभएको थियो ।
कांग्रेसको केन्द्रीय कार्यालयमा मङ्गलबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उहाँले देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिएको भन्दै प्रवक्ता महतले आपत्ति जनाउनुभएको हो । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक रहेको उहाँको भनाइ छ ।