काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा आफूखुशी उम्मेदवारी दिनेहरुलाई हटाउने पहल भइरहेको जनाएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताउनु भएको हो ।
प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाउनु भयो । उहाँले उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पार्नु भयो ।
सत्तारुढ दलहरुबीचको सहमती विपरित पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताउनु भएको हो ।
उहाँले मनोनयनमा परेकाहरुबाट पनि सहमतीमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमती नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताउनु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिबादी काँग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गर्नुभयो ।