निर्वाचनमा दलहरुबाटै आचारसंहिता उल्लंघन

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ ।

समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘उल्लंघन’ गरेको पाइएको जनाएको हो ।

निर्वाचनको माहौल बन्दै जाँदा आम मतदाता एवम् जनसाधारणमा उल्लास र जाँगर देखिनु लोकतन्त्रको सम्वर्द्धन र प्रवर्द्धनका लागि राम्रो लक्षण भए पनि निर्वाचनमा उम्मेदवारी दर्ता गर्न दिईएको समयमा निर्वाचन आचारसंहिताको पालना गरिएको नदेखिएको समितिले जनाएको छ ।

दलहरुले निर्वाचन आचारसंहिता विपरित नावालकहरुलाई प्रयोग गर्नुका साथै निर्वाचनमा निर्वाचन आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गरेको पाइएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ठूला ठूला झाँकी तथा जुलुस लिएर हिँड्न नपाइने प्रावधान भए पनि दलहरुले बाजागाजा, झाँकीसहित ठूलो संख्यामा मोटरसाइकल र्याली गरेको पाइएको समितिको भनाइ छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलहरुसँगको सहकार्य एवम् सहमतिमा तय गरिएको भए पनि मनोनयन दर्ताको क्रममै आचारसंहिता उल्लंघन भएको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *