नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ ।
नेकपा एसले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी १३ असारका लागि सचिवालयको बैठक बोलाएको हो । बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाबारे छलफल हुनेछ ।
बैठकले समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपप्रमुख अर्यालले जानकारी दिए ।