विशेष अदालतमा माधव नेपालको थुनछेक बहस जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ ।

आज बिहान विशेष अदालतमा उपस्थित भएका अध्यक्ष नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस सुरु भएको हो । अहिले अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन् ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । त्यसपछि अध्यक्ष नेपालका तर्फबाट कानुन व्यवसायीहरुले जवाफी बहस गर्नेछन् ।

जसमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायत रहेका छन्। थुनछेक बहस लम्बिएमा आज अध्यक्ष नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्छ । अदालत स्रोतका अनुसार थुनछेक बहस आजै सक्नेगरी तयारी भइरहेको छ ।

काभ्रेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लगाउँदै अख्तियारले जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *